अखाद्य बस्तु मिसाइएको पाइएपछि फेमिली ब्राण्डको खानेतेल उत्पादन र बिक्रीमा प्रतिवन्ध

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, १८ : ४६
अखाद्य बस्तु मिसाइएको पाइएपछि फेमिली ब्राण्डको खानेतेल उत्पादन र बिक्रीमा प्रतिवन्ध

वीरगंज  । फेमिली ब्राण्डको खानेतेल उत्पादन र बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ । उत्पादन गुणस्तरहिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले उद्योगबाट तोरी तेलको नमूना नियन्त्रणमा लिएर विहीबार साँझ उद्योगमा शिल लगाएको हो ।

फेमिली ब्राण्ड तोरी र भटमासको तेल उत्पादन गर्दै आएको शिवशक्ति घिउ उद्योग प्रा.लि.का संचालक नेपाल घिउतेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल हुन् । औद्योगिक करिडरमा अवस्थित एक उद्योगको क्यान्टिन संचालकले उद्योगको उत्पादन बारे इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेपछि बारा प्रशासनले छापा मारेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले शंकास्पद नमूना संकलन गरेर परिक्षणका लागी नापतौल तथा गुणस्तर विभागको क्षेत्रिय प्रयोगशालामा पठाइएको जानकारी दिए । प्रशासनले परिक्षण प्रतिवेदन नआएसम्म उत्पादन नगर्न र उत्पादित खानेतेल नबेच्न निर्देशन दिएको छ ।

अधिकांश घिउतेल उत्पादकले सस्तो मूल्यमा आफ्नो उत्पादन बेच्न भटमासको तेलमा पाल्म आयल, सूर्यमूखी र तोरी तेलमा भटमासको तेल मिसावट गरेको अनुगमन टोलीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस