फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

एजेन्सी

शनिबार, १३ साउन २०८०, ०७ : ४८
फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ ।

सिङ्गापुरमा लागुऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइएको छ ।

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँचजनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो ।

गत वर्षको नोभेम्बरमा सातजनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो । साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी कुवेत र सिङ्गापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा गर्दछौं र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्दछौं ।”

“हामी कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस