छोराहरूको मृत्युपछि ओडारमा बस्दै आएका व्यक्तिको उद्धार

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १५ : २६
छोराहरूको मृत्युपछि ओडारमा बस्दै आएका व्यक्तिको उद्धार

म्याग्दी। बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई  आज उद्धार गरिएको छ ।बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।

“एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो”, उनले भनिन्, “घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनःस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।”

शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको हो। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुनमा समाचार सार्वजनिक भएको थियो । 

 

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,” राहुलले भने, “उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।” उनले कन्दमुल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए। 

सो ओडार बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ ।

काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैंले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । “मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो,” उनले भने, “काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।” 

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो । 

प्रतिक्रिया दिनुहोस