गगनप्रति मोहनको कटाक्ष : पार्टीभित्र केही नेताले गफ दिएर भद्रगोल गर्न खोजे

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १३ : ११
गगनप्रति मोहनको कटाक्ष : पार्टीभित्र केही नेताले गफ दिएर भद्रगोल गर्न खोजे

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले केही नेताले गफ दिएर पार्टीलाई भद्रगोल गर्न खोजेको आरोप लगाए।

‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्,’ उनले भने, ‘हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के–के अवसर लिए ?’मौका पाउँदा सबैले गुटबाट फाइदा लिएको उनको भनाइ थियो। केहीले कांग्रेस कमजोर पार्न खोजेको उनको भनाइ थियो।

‘निश्चित व्यक्तिबाट कांग्रेस कमजोर बनाउन खोजिएको छ। पार्टी फुट्छ भन्ने प्रचार भए। घन्टी कांग्रेस, हलो कांग्रेसका कुरा आए,’ उनले भने।उनले युवा हुनुपर्ने र मै हुनुपर्ने प्रवृत्ति पार्टीभित्र हुर्किरहेको बताए । उनले महामन्त्री गगन थापाको नाम नलिई टिकट वितरणबारे थापाले बोलेका अभिव्यक्तिमा कटाक्ष गरेका थिए।

‘दाइ–भाउजूले टिकट बाँड्छन् भन्ने ? ठुला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको हो ?,’ बस्नेतको प्रश्न छ । आफूलाई गत चुनावमा हराउन खोजेको आरोपसमेत उनले लगाए। ‘माओवादीका अग्निप्रसाद सापकोटा नलड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र १ मलाई किन दिइएन ? हामीलाई दिनुपर्छ भनेर क–कसले बोल्नुभयो ?,’ उनले भने, ‘हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन । तपाईंहरूको दुर्भाग्य मैले चुनाव जितेर आएँ।’

उनले मन्त्री हुन नपाएकाहरूले सरकारका कामकारबाहीको विरोध गरेको आरोप लगाए। उनले गठबन्धनको विरोध नगर्न पनि आग्रह गरेका थिए।‘पहिले माओवादी र एमाले मिल्दा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न सकेन भन्ने। अहिले गठबन्धन गर्दा गठबन्धनको विरोध गर्ने ?,’ उनले भने, ‘गठबन्धन नगरेको भए क–कसले चुनाव जितेर आउँथे ?’उनले गठबन्धन भत्काउने काम गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउन सक्नेतर्फ पनि हेक्का राख्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस