सुन काण्डको अनुसन्धान जरोसम्म पुग्छ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १४ : ५९
सुन काण्डको अनुसन्धान जरोसम्म पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सार कार्यालयबाट भएको सुन तस्करी सम्बन्धमा शुरु भएको अनुसन्धान जरैसम्म पुग्ने बताएका छन् ।शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सुन तस्करी सम्बन्धमा शुरु भएको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइने बताएका हुन् । 

‘अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ, जो सुकै भए पनि यसको नेक्ससमा पुग्नेगरी कारवाहीको पक्रिया अगाडि बढ्छ’ मन्त्री श्रेष्ठले भने, ‘राजश्व अनुसन्धान विभागबाट भइरहेको अनुसन्धानलाई राज्यका निकायबाट सहयोग गर्छौं । आवश्यकता पर्‍यो भने प्रहरीले पनि छानबिन गर्न सक्छ ।’

 

नेपाल प्रहरीका महानिरीक्षकसहित विमानस्थल भन्सार अनुगमन गर्न गएका मन्त्री श्रेष्ठले तस्करी रोक्नका लागि भन्सारका कार्यालयमा प्रहरी राख्दा सहज हुने बताए । पत्रकारहरूको एक प्रश्नको जवाफमा मन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानको शिलशिलामा कुनै पार्टी, कुनै 'टार' या कुनै 'कोट'को दबाबमा नपर्ने बताए । ​

बुधवार विमानस्थल भन्सारबाट ठूलो मात्रामा सुन बाहिरिएपछि मन्त्री श्रेष्ठ भन्सार कार्यालयको अनुगमनमा पुगेका हुन् ।मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे जानकारी लिएका थिए ।उनले विमान अवतरणदेखि यात्रु–कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस