इराककुरान अपमानको विषयलाई लिएर इराक र स्विडेनबीच कुटनीतिक तनाव

एजेन्सी

शुक्रबार, ०५ साउन २०८०, १२ : १३
इराककुरान अपमानको विषयलाई लिएर इराक र स्विडेनबीच कुटनीतिक तनाव

एजेन्सी । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक ग्रन्थ कुरानको अपमान गरेको विषयलाई लिएर इराक र स्विडेनबीच कुटनीतिक तनाव बढेको छ । स्विडेनको राजधानी स्टकहोममा कुरान जलाउने योजनाको विरोधमा इराकले बग्दादस्थित स्विडिश राजदूतलाई देश छाडन आदेश दिएको छ । इराकले आफ्ना कार्यवाहक राजदूतलाई पनि फिर्ता बोलाएको छ ।

उसले स्विडिश कम्पनीहरुसँगको व्यवसाय पनि निलम्बित गरेको छ ।  बिहीबार नै आक्रोशित प्रदर्शनकारीको एउटा भिडले बग्दादस्थित स्विडिश राजदूतावासमा दोस्रो पटक तोडफोड तथा आगजनी गरेको थियो ।  एक जना इराकी क्रिश्चियन शरणार्थीलाई स्विडिश प्रहरीले दोस्रो पटक स्टकहोममा कुरान जलाउन अनुमति दिएको विरोधमा प्रदर्शनकारी फेरि आन्दोलित हुन पुगेका हुन् ।  

स्विडेनमा कुरान जलाउने अनुमति पाएको व्यक्ति सल्वान मोमिकाले स्टकहोमस्थित इराकी दूतावास अगाडि कुरानको अपमान गरेको तर कुरानलाई आगो भने नलगाएको बताइएको छ । गत महिना ती व्यक्तिले स्टकहोमको मुख्य मस्जिद अगाडी कुरानको एक प्रति जलाएका थिए । सुरुमा स्विडेन प्रहरीले सुरुमा मोमिकालाई कुरान जलाउने अनुमति दिन अस्वीकार गरेको थियो तर अभिव्यक्ति स्वतन्त्रता भन्दै अदालतले प्रहरीको प्रतिबन्धलाई उल्टाएको थियो ।

मुस्लिम देशहरू इरान, टर्की, कतार, साउदी अरबलगायतका देशले कुरानविरुद्ध प्रदर्शनको अनुमति दिएको भन्दै स्विडेनको भत्सना गरेका छन् । इसाईहरूका सर्वोच्च धर्मगुरु पोपले पनि आपत्ति जनाएका छन । अमेरिका, बेलायत र युरोपेली संघले बग्दादस्थित स्विडिश दूतावासमा भएको आक्रमणमा आपत्ति जनाएका छन ।
 

 

प्रतिक्रिया दिनुहोस