आजको मौसम : सुदूरपश्चिम र गण्डकीमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, ०६ : ३०
आजको मौसम : सुदूरपश्चिम र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मंगलवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।