अनुसन्धानमा हस्तक्षेप छैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, ११ : २८
अनुसन्धानमा हस्तक्षेप छैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् । अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस