काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सहकारीको आयमूलक तालिमको नाममा अनियमित तरिकाले रकम भुक्तानी लिइ भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।
झाले आर्थिक वर्ष २०७८–०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नको लागि पेश्की लिई कार्यक्रम संचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरेको पुष्टि भएको अख्तियारको भनाइ छ ।
पेश्की रकम फर्छ्यौट तथा बाँकी खर्च रकम सोधभर्नाको लागि झुटा बिल, भरपाई तयार गरेर अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाएको पनि अख्तियारले जनाएको छ । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० अनुसार कसुरजन्य कार्य भएकोले सात लाख एक हजार तीन सय असी रुपैयाँ बिगो मागदाबी लिएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
साथै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मतियारको रुपमा अख्तियारले मुद्दा दायर गरेको छ । प्रतिवादी ओम नारायण झालाई गैरकानुनी लाभ पुर्याउने र सरकारलाई गैरकानूनी हानि पुर्याउने कार्यमा सहयोग गरेको देखिएकाले बिगो तीन लाख अठ्सठी हजार आठ सय असी रुपैयाँ कायम गरी आरोपपत्र दायर गरिएको थपलियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १४ : ३१
लेखकबाट थप