समाजवादी मोर्चाको बैठक बस्दै, सातै प्रदेशमा कार्यक्रमको तयारी

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, ०९ : १२
समाजवादी मोर्चाको बैठक बस्दै, सातै प्रदेशमा कार्यक्रमको तयारी

काठमाडौ । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो।

समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

‘हामीले साउन ७–८ पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, हाम्रो कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन लागेका छौं, आज त्यसैको तयारी बैठक पनि हो, त्यसका अलाव अरू राजनीतिक विषयमा पनि छलफल हुन्छ,’ उनले भने।

समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने उनले बताए।

कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्।