कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

सफल खबर संवाददाता

सोमबार, २५ असार २०८०, १३ : ०७
कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत दर्ता गराएका रिट आज न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।

संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीतको कार्य भएको भन्दै रिट दर्ता गराएका हुन् ।नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष बहुमत पुगेको दाबी पेस गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरेका छन् ।