बुटवलस्थित शिवशिखर सहकारी र डिपार्टमेन्टल स्टोर खाली गराइयो

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, २० : १९
बुटवलस्थित शिवशिखर सहकारी र डिपार्टमेन्टल स्टोर खाली गराइयो

बुटवल। बचतकर्ताको अर्बौं रकम अपचलन गरेपछि बन्द भएको रूपन्देहीको बुटवल-१० योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गराइएको छ।

सहकारीले योगीकुटीको मुमा टावरमा कार्यालय, गार्डेन मार्ट एवं डिपार्टमेन्ट स्टोर र खाद्य सामग्रीको डिलर सञ्चालन गर्दै आएको थियो। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी चार महिनादेखि बन्द छ।

घरधनी ईश्वर मल्लले भवन खाली गराउन आग्रह गर्दा पनि सहकारीले अटेर गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर शुक्रवार घर खाली गराइएको हो। मल्लले प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीको समेत रोहबरमा सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर खाली गराइएको बताए।

२०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिवशिखरले गार्डेनमार्ट डिपार्टमेन्टल स्टोरमार्फत व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो। यो सहकारी बुटवलमा २०७८ साउनमा सञ्चालनमा आएको थियो।

बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पूर्व अध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५/१६ जना बचतकर्ताले बचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए। लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस