बाँदरमुढे बिर्सन विकास खोजिरहेछ माडी

आइतबार, १९ कार्तिक २०७४, १२ : १९
बाँदरमुढे बिर्सन विकास खोजिरहेछ माडी

चितवन । माडी नगरपालिका ६ कल्याणपुरका सुरेश थापा बाढीले बर्सेनी सताउने माडीमा रिउ खोलाको तटबन्धन राम्रो किसिमले होस् भन्ने चाहन्छन् । खोलामा तटबन्ध गरेपछि निकुञ्जबाट मानव बस्तीमा जनावर आउन र बाढी पस्न रोकिने उनको भनाइ छ । माडीमा उद्योग धन्दाभन्दा पनि पर्यटन विकासबाट आर्थिक विकास गर्नुपर्छ भन्छन् उनी । गुरुयोजना बनाएर माडीको विकास गर्नुपर्ने उनी बताउँछन् । 
माडी नगरपालिका ३ निवासी राजु रोक्का माडी अहिले पनि विकट भएकोले यहाँ विकासको आवश्यकता रहेको बताउँछन् । तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरिएको माडीमा वन्यजन्तुबाट हुने खतरा कम गराउनु पर्ने, वन्यजन्तुको संरक्षणसँगै रिउमा तटबन्धन र विकासका काम अगाडि बढाउनु पर्ने उनको सुझाव छ । वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको लागि चितवन क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिएपछि आफूहरु माडीमा विकास हुनेमा आशावादी रहेको उनले सुनाए ।


माडीवासी लक्ष्मी पोखरेलले निर्वाचन लड्न शीर्ष नेता प्रचण्ड चितवन आउनुलाई चितवनकै अवसरको रुपमा लिएकी छिन् । चितवनले प्रचण्डलाई जिताएर पठाएपछि माडीसँगै सिंगो चितवनमा विकासका योजनाहरु ल्याउन सहज हुने उनको बुझाइ छ । माडीमा तटबन्ध, सडक निर्माण, अस्पताल, जनावर नियन्त्रण, खोलामाथि पुल, दिगो विद्युतीकरण आवश्यक रहेको उनले बताइन् । बाँदरमुढे घटनाका पीडितहरु पीडामा रहेको र त्यो पीडा भुलाउन विकासका काम ल्याउनु पर्ने उनको सुझाव छ ।


माडीको वसन्तपुरमा भेटिएका थापा, रोक्का र पोखरेल प्रतिनिधि पात्र हुन् । आज सिंगो माडीले विकास चाहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेपछि सोही क्षेत्रमा पर्ने माडीका वासिन्दाहरु यतिबेला आशावादी बनेका छन् । प्रचण्डको जितपछि माडीले विकास पाउनेमा उनीहरु आशावादी बनेका हुन् । जनताको विकासको चाहनालाई सम्बोधन गर्दै प्रचण्डले माडीका समस्या सबै समाधान गर्न सकिने र पाँच वर्षभित्रै यो काम हुने आश्वासन दिएका छन् ।


दसवर्षे सशस्त्र जनयुद्धको अन्तिम समयतिर २०६२ साल जेठ २३ गते माडीको बाँदरमुढेमा भएको घटना प्रचण्डको लागि सधैँ टाउको दुखाईका विषय बनेपनि अब भने माडीका जनताले बाँदरमुढेको चोटमा विकासको मलहम कुरिरहेका छन् । सिंगो माडी बाँदरमुढे बिर्सन विकास खोजिरहेको छ । स्वयं बाँदरमुढे घटनापीडितले पनि आफूहरुलाई राहत र माडीको विकासले नै बाँदरमुढेको दाग मेटिने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस