चीनको मुख्य चासो बीआरआई हो : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १४ : १०
चीनको मुख्य चासो बीआरआई हो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज काठमाडौँ आइपुगेका छन् । उनले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास,व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताए । उनले चीनको मुख्य चासो बीआरआई परियोनाबारे रहेको पनि बताए ।

चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक भएको भन्दै उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आफूले आग्रह गरेको बताए । व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको उनको भनाइ छ ।

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको भन्दै उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर प्रक्रिया टुङ्गो लगाउने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको र सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न पनि आग्रह गरेको बताए । भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस