सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १४ : ५५
सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रतिप्रश्नको जवाफमा उनले सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

 

उनले सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने जानकारी दिँदै अर्थतन्त्रमा देखा परेका केही समस्याका कारण आवश्यक सङ्ख्यामा बिओपी भवन बनाउन तत्काल जटिलता रहेको बताए ।

उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षाका लागि परिचालन भएको भए पनि बसोबासका लागि राम्रो व्यवस्था नभएका कारण प्रभावकारी रुपमा परिचालन गर्न कठिनाइ भएको स्वीकार गरे । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उचित बसोबासको प्रबन्धका लागि समेत सरकार दत्तचित्त भएर लागेको उल्लेख गरे ।

 

उपप्रधानमन्त्री श्रेष्ठले प्रतिजासुसी संयन्त्रका बारेमा कुनै औपचारिक छलफलमा प्रवेश नगरेको जानकारी दिँदै अनौपचारिक रुपमा भने बेला बेलामा छलफल भएको उल्लेख गरे । नियोजित रुपमा धर्म प्रचार र परिवर्तनका सन्दर्भका केही कारबाही भएको जानकारी दिँदै उनले धर्म परिवर्तनका सन्दर्भमा सरकार गम्भीर रहेको बताए । 

प्रतिक्रिया दिनुहोस