गोकर्ण बिष्टको प्रश्न- ‘जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?’

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १४ : ४७
गोकर्ण बिष्टको प्रश्न- ‘जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?’

काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको भन्दै बिष्टले प्रश्न गरे, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आए पनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्बाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ ?’

उनले १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको आरोप समेत लगाए । ‘विद्युतको आन्तरिक खपत बढाउनुपर्ने हो तर आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । ११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गरेका छैनन्,’ बिष्टले भने, ‘अहिले पनि हजारौँ, लाखौँ घरहरु अँध्यारोमा बसिरहेका छन् । विद्युतीय सवारीसाधन, इन्डक्शन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन । २०२१ को तथ्यांक अनुसार ६० प्रतिशत फ्युलमा आधारित परम्परागत र २७ प्रतिशत, डिजेल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ र विद्युतको प्रयोग ४.२ प्रतिशत मात्रै छ । उर्जा खपतको हिसावले यो प्रकारको अवस्था छ । विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गरेर बसेका छौँ । यो प्रकारको कहालीलाग्दो अवस्था छ ।’

भारतसँग १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियाको गम्भीरता के कति छ भनेर पनि उनले प्रश्न गरेका छन् । एमाले सचिव समेत रहेका बिष्टले आन्तरिक खपत बढाउनुको ठाउँमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस