विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, २० : ४७
विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी

नवलपरासी   । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए । 

आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिवद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरु सबैले देख्नुभएको छ ।’

नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिवद्धता कार्यान्वयनमा आफू इमान्दार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको  छु । चुनावी प्रतिवद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धीलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उनले भने ।

उनले वर्षौदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउने वित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म विग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुवान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’ 

सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडकखण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढि काम भएको छ । अबको आठ महिनाभित्रै नवलपरासीखण्डको सडक निर्माण सम्पन्न हुने प्रतिवद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताए । 

त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दावी थियो । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब  यो काम सुचारु भएको छ,’ उनले भने । 

उनले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताए । विगतमा  केराको वीउ अर्को मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै वीउ  उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गरे । 

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उनले छलफल गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस