पाल्पामा भन्सार छली ल्याइएको अवैध युरिया मल बरामद

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १३ : १७
पाल्पामा भन्सार छली ल्याइएको अवैध युरिया मल बरामद

पाल्पा । भन्सार छली ल्याइएको अवैध युरियार मल पाल्पाबाट बरामद गरिएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल जिल्लाको रम्भा गाउँपालिका-१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट बरामद गरिएको हो ।

शनिबार विहान नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

शंका लागेर चेक जाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले विल नभएको भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक १६७४० केजीको मल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस