एमालेलाई गृहमन्त्रीको जवाफ : सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकार छुट दिँदैन

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १२ : १४
एमालेलाई गृहमन्त्रीको जवाफ : सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकार छुट दिँदैन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो ।

एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए ।वैधानिक तरिकाबाट कोशीको नाम फेरबदल गरिए एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण गराएपछि कोशीमा भइरहेका गतिविधिबारे आफूले सदनलाई जानकारी गराउनु उपयुक्त हुने बताए ।

कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीको भनाइ छ ।बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो ।

‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दुस्ख व्यक्त गर्दछ ।’ एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए ।

‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन् । उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन्,’ उनले भने, ‘अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन ।’

प्रतिक्रिया दिनुहोस