इजरायल र साउदी अरबबीच सिधा उडानका लागि सरकारप्रमुखहरूबीच वार्ता

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १२ : ४१
इजरायल र साउदी अरबबीच सिधा उडानका लागि सरकारप्रमुखहरूबीच वार्ता

एजेन्सी। इजरयालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र परराष्ट्रमन्त्री एली कोहेनले साउदी युवराज मोहम्मद बिन सलमानसँग फोनमा कुराकानी गरेको द टाइम्स अफ इजरायलले खबर दिएको छ । हजयात्राका लागि इजरायल र साउदीबीच सिधा उडान गराउनका लागि यो फोनवार्ता भएको बताइएको छ । 

बिन सलमानले बहराइनका परराष्ट्रमन्त्री अब्दुललतिफ बिन राशिद अल–जयानीलाई मध्यस्थकर्ता बनाएर इजरायलसँग कुराकानी गरिरहेका छन् । तर इजरायलले अमेरिकालाई मध्यस्थकर्ताका रूपमा राख्न चाहेको च्यानल १२ न्युजले खबर दिएको छ । 

प्यालेस्टाइनीहरूलाई सिधै जेद्दाहसम्म उड्नका लागि प्रबन्ध मिलाउन साउदीले माग गरिरहेको छ । अमेरिकाको जो बाइडन प्रशासनले यसका लागि इजरायललाई दबाब दिइरहेको छ । त्यसबाहेक अन्य संवेदनशील विषयमा पनि दुई पक्षबीच कुराकानी भइरहेको छ । 

पश्चिमी किनारामा इजरायली सेनाबाट केही अधिकार प्यालेस्टाइनियन अथोरिटी फोर्सेसमा हस्तान्तरण गर्न र प्यालेस्टाइनी अधिकारीहरूलाई टेम्पल माउन्ट तथा चर्च अफ द होली सेपलकरको सुरक्षाको जिम्मेवारी दिनका लागि पनि कुराकानी भइरहेको छ। तर यस कदमलाई इजरायलको कट्टर दक्षिणपन्थी सरकारले रोक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस