सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि छाड्दैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ११ : ३३
सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि छाड्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ ।  बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा श्रेष्ठले  नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे । ‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने । 

देशको समृद्धि नहुनुको पछाडि भ्रष्टाचार नै प्रमुख समस्या भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अहिले पनि हर ठाउँमा कमिसनको चक्कर छ । ठुला योजनाहरू अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम समेत भएका छन् । यसको जरोकिलो उखेल्नुपर्छ, यो अभियानमा सरकार प्रतिबद्ध भएर लागेको छ ।’  उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै सोहीअनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेको बताए । 

‘यसमा प्रधानमन्त्रीको दह्रो साथ रहेको छ । देशका प्रमुख दलका नेताहरु पूर्वप्रम शेरबहादुर देउवा र केपी ओलीहरुसँगको भेटमा पनि म कसैको दबाबमा पर्दिनँ भनेको छु’, उनले भने, ‘सरकारले कसैलाई छाड्दैन ।  प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भीकताका साथ काम गर्न भनेको छु ।’ सो क्रममा प्रवास समन्वय समितिका टोलीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीले चालेको कदमप्रति धन्यवाद दिँदै ऐक्यबद्धता जनाएको समितिका अध्यक्ष ओम शर्माले जानकारी दिए । 

समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सरकारले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर पार्टी र  विश्वभरका नेपालीको शिर ठाडो भएको बताए ।  उनले उच्च ओहोदामा भएकाहरूले गल्ती गरेका छन् भने कारबाही हुनुपर्नेमा जोड दिए । यसैगरी अध्यक्ष ओम शर्माले प्रवास समन्वय समितिले गरिरहेका कामकारबाहीबारे संक्षिप्तमा जानकारी गराउँदै भ्रष्टाचारविरुद्ध सरकारले गरेको काममा खुट्टा नकमाईकन सम्पन्न गर्न आग्रह गरे । उनले सरकारले गरेको काममा सिङ्गो प्रवासीहरू खुसी भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस