केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’

एजेन्सी

आइतबार, ३१ बैशाख २०८०, १३ : ०२
केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’

एजेन्सी । केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।

जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोक भोकै मारिएको छ । शनिवार प्रहरीले थप २२ शव बरामद गरेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, ‘हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौँ ।’

केन्याको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जङ्गलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ ।यस सम्प्रदायसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्याको धेरै चरणहरूमा योजना बनाएको बताएका छन् । यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

पास्टरका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोको राखेर मारियो । त्यसपछि महिलाले आत्महत्या गरे अनि पुरुषले ज्यान दिए । अन्त्यमा सम्प्रदायका नेता पास्टर पल म्याकेन्जीको परिवारले आत्महत्या गरे ।

पल म्याकेन्जी हाल प्रहरीको हिरासतमा छन् । प्रहरीले केही शवका पोस्टमार्टम गरेको छ । मारिएका मानिसमा भोक, सास फेर्न नसकेको र कुटिएको सङ्केत भेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस