नक्कली भुटानी शरणार्थी प्रकरणका सबै नेक्ससलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १५ : ४७
नक्कली भुटानी शरणार्थी प्रकरणका सबै नेक्ससलाई कारबाही हुन्छ  : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।  

'निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,' श्रेष्ठले भने । श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भएपनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । भेटमा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस