‘ए’ डिभिजन लिगमा आज १६ औं चरणका खेल हुने

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १२ : १९
‘ए’ डिभिजन लिगमा आज १६ औं चरणका खेल हुने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारबाट १६ औं चरणका खेलहरू सुरु हुँदैछन् । १६ औं चरणको पहिलो खेलमा सोमबार रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले एफसी खुमलटारसँग खेल्ने भएकाे हाे । यो खेल ललितपुरको च्यासल मैदानमा सोमबार दिउँसो ३ बजे सुरु हुने भएकाे छ ।

पहिलो चरणको खेलमा फ्रेण्ड्सले खुमलटारलाई १–० ले पराजि तगरेकाे थियो । फ्रेन्ड्स १६ अंकसहित तालिकाको १३ औं स्थानमा छ भने खुमलटार १७ अंक सहित १२ औं स्थानमा रहेकाे छ ।

सोमबार नै एन्फा कम्प्लेक्स सातदाेबाटोमा हुने खेलमा मनाङ मर्स्यांदी क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने भएकाे छ । नयाँ प्रशिक्षक विष्णु गुरुङले जिम्मेवारी समालेपछि हौसिएको मनाङ तालिकाको पुछारमा रहेका पुलिसलाई पराजित गर्दै उपाधिकाे सम्भावना पुर्नजिवित पार्न चाहन्छ ।

पहिलो लिगको खेलमा पुलिसले मनाङलाई १–० ले पराजित गरेकाे थियो । मनाङ १५ खेलबाट १९ अंकसहित अंक तालिकाको आठौं स्थानमा रहँदा १५ अंक जोडेको पुलिस क्लब तालिकाको पुछारमा रहेकाे छ ।

२७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड तालिकाको शीर्ष स्थानमा छ । साथै जावलाखेल, थ्रिस्टार र मच्छिन्द्र क्लबको समान २४ अंक रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस