संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

रासस

मंगलबार, १९ बैशाख २०८०, १५ : ०१
संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको छ । 

बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन वन कार्यालयको रु १० लाख लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनमा बालबालिकाको भिड लाग्ने गरे तापनि अहिले भने शून्य नै छ । उचित संरक्षण हुननसक्दा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचना प्रयोग गर्न लायक अवस्थामा नरहेको स्थानीय अमिर श्रेष्ठले बताए । 

गत वर्षमा मात्र निर्माण भएको शहीद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको सुनिल बुढाथोकीले बताए । उनका अनुसार सशस्त्रद्वन्द्वको क्रममा मारिएका जिल्लाका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै रु १८ लाख लागतमा चौतारा साँगाचोकगढी वडा न ६ मा निर्माण भएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको सहिद पार्क उचित संरक्षण हुन नसकेपछि जीर्ण भएको स्थानीय शिक्षक पृथ्वीजङग पाण्डेले जानकारी दिए । विसं २०४० मा तत्कालीन पञ्चायतविरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीरबहादुर थामी र इले थामीको सम्झना र सम्मानमा पार्क निर्माण गरिएको उनको भनाइ छ ।

विसं २०६४ मा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको शहीद स्मृति पार्क भने १६ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनिसकेका छन् । विसं २०६४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सशस्त्रद्वन्द्वमा सहादत प्राप्त शहीदको सम्झनामा निर्माण गरिएको पार्कका लागि सुरुमा रु २० लाख बजेट विनियोजन भएको र निरन्तररुपमा पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीय महेश नेपालले बताए । 

यसवर्ष पनि सो पार्कका लागि बलेफी गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेटको सही सदुपयोग हुन नसक्दा पार्क निर्माण अलपत्र भएको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस