सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १३ : २३
सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’

प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । ‘प्रहरी शासक हैन सेवक हो’ निर्देशन सम्बोधन गर्दै श्रेष्ठले भने–‘जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’

देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’ 

प्रतिक्रिया दिनुहोस