चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १४ : २०
चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए ।

उनले भने, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने २३ गते मनोनयन दर्ता टुङ्ग्याएर वैशाख १० गते उपनिर्वाचन हुनेछ ।” न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले चितवन क्षेत्र नं २ मा चार सय ८० नयाँ मतदाता थपिएको जानकारी दिए । “गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थिए, अहिले चार सय ८० जना थिपिएका छन्”, उनले भने । निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस