मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत

पत्रपत्रिकाबाट

आइतबार, १९ कार्तिक २०७४, ०७ : २२
मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत


निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् ।

मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाता शिक्षा र तालिमका लागि एक अर्ब ४२ करोड ५९ लाख ६३ हजार रुपैयाँ छुट्ट्याइएको छ । आयोगले मतदाता शिक्षामार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचन आउन करिब तीन साता मात्र बाँकी छ, तर आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन । हिमाली तथा उच्च पहाडी क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदैछ।

राजधानीबाट मतदाता शिक्षाका सामग्री जिल्लासम्म पुर्‍याएर सबैको घरदैलोमा स्वयंसेवकमार्फत मतदाता शिक्षा दिन निकै चुनौती देखिएको छ । एउटा मतदान केन्द्रका लागि एकजना मात्र मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ, तर मतपत्रको ढाँचा फेरबदलपछिका सामग्री मतदाता शिक्षा कार्यकर्ताका हातमा पुग्नै बाँकी छ ।

यसअघि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को गरी दुईवटा मतपत्र रहने व्यवस्था थियो, तर सर्वोच्च अदालतले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अलगअलग मतपत्र छपाइका विषयमा आयोगसँग लिखित जवाफ मागेपछि ढाँचा फेरिएको हो । समय अभावको कारण अहिले मतदाता शिक्षा प्रभावित हुने देखिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता सहभागी हुँदैछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस