पृथ्वी शाह समूहविरुद्ध ४ वटा मुद्दा चलाउन सीआईबीको सुझाव

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १४ : ५२
पृथ्वी शाह समूहविरुद्ध ४ वटा मुद्दा चलाउन सीआईबीको सुझाव

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ ।

बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।सीआईबीका अनुसार पृथ्वीबहादुर शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । त्यस्तै विजयबिक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । ठगी र संगठित अपराधमा शाहसँगै पक्राउ परेका ७ जना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन भनिएको छ ।

अमेरिकामा  ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्र्याउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापित गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत ब्यांक एकाउन्टमा पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएका सीआईबीले जनाएको छ ।

शाहको समूहले काठमाडौं महानगरपालिका-७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको  पनि सीआईबीले जनाएको छ ।त्यस्ते कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको सीआईबीले अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबाट कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ । पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस