परिवार पाल्न खोला किनारमै बास

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १२ : ०१
परिवार पाल्न खोला किनारमै बास

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उनले घरपरिवार, छोराछोरीको खर्च टार्न सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो । 

राेजगारीको कुनै माध्यम नभएपछि गन्धर्भ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन् । उनले भने, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दैआएको छु । यसकै  आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा मार्छौं, छोराले बिक्री गर्छ ।”

खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको गन्धर्भ बताउँछन् । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा–जमिन छैन”, उनले भने । 

गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए । अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन । वर्षौँदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई सधैँ के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ । 

माछा मारेरै जीविकोपार्जन गर्दैआएका श्याम बादी स्थानीय, प्रदेश र संघीय सरकारसँग जग्गा उपलब्ध गराउन माग गर्छन् ।  गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ । जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन् । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भने । चालिसभन्दा बढी परिवारसँग जग्गा नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस