स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १९ : ५२
स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन भएको छ  ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ ।

यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस