सन्दीपको रिट न्यायाधीश सपना प्रधान र कुमार चुडालको इजलासमा

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, ११ : २७
सन्दीपको रिट न्यायाधीश सपना प्रधान र कुमार चुडालको इजलासमा

काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको रिट निवेदन न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ।

सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गरेका छन्। उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ। 

यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भए पनि विदेश जाने अनुमतिबारे निर्णय भएन। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पीडितका तर्फबाट पनि रिट निवेदन परेकाले सँगै राखेर हेर्ने र सन्दीपको निवेदन तत्काल टुंगो लगाउनुपर्ने देखिएकाले अग्राधिकार दिने आदेश दिएको थियो। 

प्रधान र चुडालको इजलासमा सुरुमै उक्त रिटमा सुनुवाइ हुनेछ। उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन्। 

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन र धरौटी घटाउनसहितका माग गरेका छन्। तर पीडितका तर्फबाट सरकारले बलात्कारजस्तो गम्भीर मुद्दाका अभियुक्तलाई थुनाबाहिर राख्न नहुने दाबी गर्दै थुनामै राखेर मुद्दाको सुनवाइ गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस