नारायणी नदी किनार अब्यवस्थित व्यवसायहरुका कारण अस्तव्यस्त हुन थाल्यो : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, १६ : ०७
नारायणी नदी किनार अब्यवस्थित व्यवसायहरुका कारण अस्तव्यस्त हुन थाल्यो : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण गरेको छ । ‘भरतपुर भ्रमण वर्ष २०८०’ को पूर्वसन्धयामा नारायणी नदी किनारमा निर्माणधिन ‘सि बिच मोडल’ को मेयर दाहाल नेतृत्वको टोलीले निरीक्षण एवम् अवलोकन गरेको हो ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ ।निरीक्षणको क्रममा प्रमुख दाहालले  ‘सि बिच मोडल’ को भौतिक प्रगति, सर्वाजनिक जग्गामा बनेका अवैद्य संरचना, नारायणी नदी क्षेत्रमा रहेका व्यवसायको व्यवस्थितिकरण र सरसफाईको बारेमा चासो राखिन् ।

पछिल्लो समय नारायणी नदी किनारमा अब्यवस्थित व्यवसायहरुका कारण अस्तव्यस्त हुन थालेको भन्दै मेयर दाहालले चिन्तासमेत व्यक्त गरिन् ।भरतपुर महानगरपालिकाका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, पर्यटन विज्ञ, भरतपुर महानगरपालिकाका ईन्जिनियरसहित नारायणी नदी किनार पुगेको टोलीले भ्रमण वर्षलाई लक्ष्ति गरेर बाँकी भौतिक कार्यलाई तीब्र रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।नारायणी नदी किनारलाई ब्यवस्थित पर्यटकीय स्थलका रुपमा विकास गर्न हरियालीसहित ‘सि बिच मोडल’ लाई विभिन्न मन्त्रालयको बजेटमा सौन्दर्यकरणको काम भइरहेको छ ।

भरतपुर महानगरपालिकाले विस २०८० लाई भ्रमण वर्ष मनाउने गरी बृहत छलफल गरिरहेको छ । महानगरपालिकाले भरतपुरमा भईरहेको विकास र यहाँका पर्यटकीय गन्तव्यलाई देश, विदेशमा सन्देश फैल्याउने उद्देश्यसहित भ्रमण वर्ष मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस