हाम्रो लक्ष्य नै छनोट : कप्तान खनाल

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १३ : १२
हाम्रो लक्ष्य नै छनोट : कप्तान खनाल

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक र कप्तानले विश्वकपमा छनोट भएर स्वदेश फर्कने विश्वास व्यक्त गरेका छन् । यू–१० विश्वकपको एशिया छनोट खेल्न यूएई जान लागेका टोलीका कप्तान देव खनालले टिम राम्रो भएकाले विश्वकप खेल्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘हामीले सबै तयारी राम्रो गरेका छौं । देशलाई जिताएर विश्वकप खेलाउने एउटै लक्ष्य लिएर गइरहेका छौं ।’

टिममा अन्तिम समयमा आएर कप्तानीको जिम्मेवारी पाएका देवले टिममा एक सिनियर खेलाडी तथा ब्याटिङ युनिटको जिम्मेवारी पनि निर्वाह गर्नेछन् । ‘हाम्रो बलियो पक्ष भनेको फास्ट बलिङ हो । तर अन्य पक्ष पनि बलियो छ । तयारी पनि राम्रो भयो । सबै खेलाडी आत्मविश्वासी छौं’, देवले भने ।

नेपालले यस छनोट खेलमा पाँच देशलाई पछि पारेको खण्डमा मात्रै २०२४ मा श्रीलंकामा यू–१९ विश्वकप खेल्ने अवसर पाउनेछ । नेपालका लागि देवले यस अघिको छनोटमा पनि कप्तानी गरी सकेका छन् । राष्ट्रिय टिमबाट पनि खेलिसकेका उनले यस प्रतियोगितामा देशलाई विश्वकप छनोटमा पु¥याई आफ्नो लागि पनि सिनियर टिममा फर्किने ढोका खोल्ने बताएका छन् ।

‘मेरो जिम्मेवारी बढी छ । मैले राम्रो गरेर म आफ्नै लागि पनि सिनियर टिममा फर्किने यो एउटा राम्रो र महत्वपूर्ण अवसर हो’, देवले भने ।प्रशिक्षक जगत टमटाले पनि टिमले पाँच देशलाई पछि पार्दै विश्वकप छनोट हुने टिमका प्रशिक्षक जगत टमटाले विश्वास व्यक्त गरेका छन् । २०१६ मा यू–१९ विश्वकप खेलाएका उनले भने, ‘हामीले तयारी राम्रो गरेका छौं । म टिमले विश्वकप खेल्नेमा विश्वस्त छु ।’

सिनियर टिममा पनि खेलिसकेका र प्रदेश स्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी टिममा रहेकाले टिम सन्तुलित रहेको बताए । यू–१९ टिमले सिनियर खेलाडीसँग ७ वटा अभ्यास खेल खेलेका कारण पनि अन्तर्राष्ट्रिय एक्सपोजरको कमी महसुस नहुने प्रशिक्षक टमटाले बताए ।

एशिया छनोट फागुन १२ गतेदेखि युएईमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएई सहभागी हुनेछन् । सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सिधै छनोट हुने मौका पाउनेछ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन् ।

सार्वजनिक तालिका अुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरविरुद्ध खेल्दैछ ।दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ । फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ ।

नेपाली टिम :

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस