कुटपिट गरी चोरी गर्ने फरार अभियुक्त चितवनबाट पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २६ असार २०७५, १६ : ३६
कुटपिट गरी चोरी गर्ने फरार अभियुक्त चितवनबाट पक्राउ

चितवन । ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी मुद्दामा संलग्न रही फरार रहेका भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २५ का कान कुहिए भन्ने अनिल परियार पक्राउ परेका छन् ।
उनलाई सोमबार पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनु भएको छ ।

अभियुक्त अनिल परियारमाथि २०७२ साल कार्तीक १९ गते राती १० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा निति राई र जगत पुन मगरलाई कुटपिट गरी घाइते बनाई पाँच लाख आठ हजार पाँच सय बराबरको धनमाल चोरी गरेको आरोप लागेको छ ।

उक्त चोरीको घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरि पुर्पक्षको लागि थुनामा राखिएको प्रहरी नायब उपरीक्षक आचार्यले बताउनु भयो । उक्त घटनामा संलग्न एक जना हालसम्म फरार रहेको र निजको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिनुभयो  ।

 

प्रतिक्रिया दिनुहोस