मुआथाई फाइटमा नेपालका बरुणको लगातार दोश्रो ऐतिहासिक जित

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, २१ : २१
मुआथाई फाइटमा नेपालका बरुणको लगातार दोश्रो ऐतिहासिक जित

खोटाङ। नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा थाई फाइटरलाई हराउँदै लगातार दोश्रो ऐतिहासिक जित निकालेका छन् ।

थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले पुःन ५५ केजी तौल समूहमा अर्का थाई खेलाडी सट्टा सिथुआडाङलाई पराजित गरेका हुन् । थाई फाइटरमाथि गुरुङको यो लगातार दोश्रो जित हो जुन नेपालका लागि सनसनीपूर्ण क्षण हो ।

थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा आइतबार राती भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत जित हासिल गरेका हुन् । 

नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए । नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । 

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । 

थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस