मोदीको गुजरातमा राहुल गान्धीको कडा टक्कर

सोमबार, ०३ पुस २०७४, १० : १८
मोदीको गुजरातमा राहुल गान्धीको कडा टक्कर

चितवन ।  लगातार पराजयको पीडा व्यहोर्दै आएको भारतको प्रमुख विपक्षी दल कांग्रेसको नेतृत्व राहुल गान्धीको काँधमा हस्तान्तरण भएलगत्तै गुजरातको चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । तर हिमाञ्चल प्रदेश भने कांग्रेसले गुमाउने खतरा देखिएको छ ।

यो संयोगमात्र हुनसक्छ तर कांग्रेसको नेतृत्वमा राहुल गान्धी आउनु र नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा कांग्रेसले भारतीय जनता पार्टीलाई टक्कर दिनु्ले कांग्रेसले भारतमा पुनर्जीवन पाउन लागेको विश्लेषण हुन थालेको छ ।

नरेन्द्र मोदीले तीन कार्यकाल मुख्यमन्त्री भएर विकासको मोडल तय गरेको गुजरातमा जारी मतगणनामा सत्तारुढ भाजपालाई विपक्षी कांग्रेसले कडा टक्कर दिइरहेको छ । पछिल्लो रुझान अनुसार, भाजपाले ९८ स्थानमा अग्रता लिँदा कांग्रेसले ७९ स्थानमा लिड गरिरहेको छ ।

गुजरातमा १८२ सिटका लागि भएको चुनावमा कांग्रेसले ७९ सिटमा अग्रता लिँदा थप १८ स्थान जित्ने प्रक्षेपण गरिएको छ ।

उता, हिमाञ्चलमा भने भाजपाले ३८ स्थानमा अग्रता लिएको छ । कांग्रेस आइ १९ स्थानमा अघि छ । हिमाञ्चलमा कूल ६८ सिट छ ।

हिमाञ्चलमा बिजेपी बहुमतनजिक पुग्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाञ्चलको विजयले भारतका २९ मध्ये १९ राज्यमा भाजपाको सरकार स्थापित गर्नेछ । हाल हिमाञ्चलमा कांग्रेस आईको सरकार छ ।

प्रतिक्रिया दिनुहोस