राष्ट्रपतिले शीतलनिवासमा हेरिन् फिल्म ‘महापुरुष’

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, १९ : १७
राष्ट्रपतिले शीतलनिवासमा हेरिन् फिल्म ‘महापुरुष’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छिन् । शनिबार शीतलनिवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिति थियो ।

राष्ट्रपतिकै इच्छामा फिल्म देखाइएको जानकारी निर्माता दिपेश म्याक्स खत्रीले दिए । राष्ट्रपति भण्डारीसहित कर्मचारीले समेत फिल्म हेरेका थिए । फिल्मको स्क्रिनिङमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अञ्जना बराइली लगायतको उपस्थिति थियो ।

प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषले एकल पुरुषको जीवनको कथा भन्छ । बक्सअफिस र समीक्षात्मक रुपमा समेत फिल्मले राम्रो कमाइ गरेको थियो । माघ पहिलो साता राष्ट्रपति भण्डारीले चलचित्रकर्मीलाई कार्यालयमा बोलाएर फिल्मक्षेत्रका समस्याबारे छलफल गरेकी थिइन् ।

उक्त भेलामा प्राप्त सुझावलाई कार्यान्वयन गर्नेतर्फ पहल गर्न आग्रह गर्दै शीतलनिवासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस