राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका हाैँ : कांग्रेस प्रवक्ता

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १२ : ५४
राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका हाैँ : कांग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।”

“संसद्मा गुण र दोषका आधारमा हामीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भने । नेपाली कांग्रेस नेता डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भन्नुभएकाले उहाँको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको हो भने ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।

प्रतिक्रिया दिनुहोस