भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

रासस

मंगलबार, १० माघ २०७९, ०० : ०८
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् ।केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो ।

दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् ।

गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताउनुभयो । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ ।

“चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन रु सात–आठ हजारमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन रु ३० हजारका दरले बिक्री भयो ।”

बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ ।बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ ।

किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ ।“किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ”, उनले भने, “बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।”

टेम्केमैयुङ गाउँपालिका–१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए। यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन् ।

आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए । यहाँका किसानले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन् ।

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए।

यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन ९४० केजीको एक मन० सम्म उत्पादन गर्ने उनले बताए । यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाइ छ । “मैले यो वर्ष रु पाँच लाख बढी आम्दानी गरेँ”, उनले भने, “मैले सुरुमा प्रतिमन रु २६ हजारले बेचेँ, अहिले प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।”

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए ।आलु, मकैबाट रु ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे रु पाँच लाखदेखि रु सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ ।

तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।“पराम्परागतरूपमा खेती गरिरहेका छौँ”, बस्नेतले भने, “यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खासै सहयोग छैन ।

यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।” एकपटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन समय लाग्ने किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस