काँग्रेस चितवनको पार्टी कार्यालयमा नेविसंघका विद्यार्थीले गरे तालाबन्दी, सभापति खनालले एकलौटी निर्णय गरेको आरोप

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, १० : १३
काँग्रेस चितवनको पार्टी कार्यालयमा नेविसंघका विद्यार्थीले गरे तालाबन्दी, सभापति खनालले एकलौटी निर्णय गरेको आरोप

चितवन । नेपाल विद्यार्थी संघ चितवनमा आवद्ध विद्यार्थीहरुले नारायणगढमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।  जिल्ला सभापति राजेश्वर खनालले नेविसंघ चितवनको नेतृत्वको नाम केन्द्रमा पठाउन एकलौटी गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

नेविसंघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीले कसैसंग सल्लाहै नगरि मनलाग्दी रुपमा एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरिएकोले विरोध स्वरुप तालाबन्दी गरिएको बताए । नेविसंघ केन्द्रिय परिपत्र अनुसार तिनजनाको नाम पठाउनुपर्नेमा एक जनाको नाम मात्रै केन्द्रमा पठाउनु बदमासी हो’–एक विद्यार्थी नेताले भने ।   विद्यार्थी नेता अनिश पन्तले विद्यार्थीहरुको भावना विपरीत नेतृत्वले एकलौटी गर्न लागेकाले विरोध गरिएको बताए ।

उनले आफूहरुको माग सुनुवाई नभएसम्म तालाबन्दी जारी राख्ने बताए । विद्यार्थीहरुले सभापति खनालको कार्यकक्षको मुल ढोका र अन्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले तालाबन्दी गर्नुअघि सभापति खनालसँग कार्यकक्षमै छलफल गरेका थिए । सो क्रममा सभापति खनालले सबैको सहमतिमा नाम सिफारिस गरेको बताएका थिए ।

तर कांग्रेस पदाधिकारीभित्रै सिफारिसको सम्बन्धमा विवाद उत्पन्न भएको छ । कांग्रेस जिल्ला उपसभापति राजीव न्यौपानेले नेविसंघको विवाद समाधान र नाम सिफारिसका लागि ९ जनाको समिति बनाए पनि समितिमा कुनै छलफल बिनानै एकलौटी ढंगले नाम केन्द्रमा सिफारिस गरिएको आरोप लगाए । नेविसंघ केन्द्रीय समितिले गत असोज २७ गते परिपत्र गर्दै  नेविसंघ चितवनमा भएका नेताहरुको  वस्तुस्थिति बारे जानकारी माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस