सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, १९ : ५९
सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरी। सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्युु  हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् ।

बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् ।

चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिएका छन् ।

मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको उनले बताए ।बिगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको स्थानीय विजय देवले जानकारी दिए ।

चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।

यशअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियोे ।