मेयर दाहालद्धारा भरतपुर १ मा निर्माणधिन खानेपानी आयोजनाको निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, ०९ : ०९
मेयर दाहालद्धारा भरतपुर १ मा निर्माणधिन खानेपानी आयोजनाको निरीक्षण

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवम् निरीक्षण गरेकी छन् ।भरतपुर महानगरपालिका वडा नम्बर–१ मा अवस्थित ढयाङ्ग्रे खोलामा निर्माणधिन खानेपानी आयोजना र ठिमुरामा भइरहेको डिप बरिङ्ग हाल्ने कामको निरीक्षण गरेकी हुन् ।मेयर दाहालले खानेपानी आयोजनाको प्रगतीबारे स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेकी छन् ।

करिब २ महिनाअघिदेखि रामनगरबासीलाई लक्ष्ति गरी ढयाङ्ग्रे खोलामा निर्माण भएको १ लाख लिटर क्षमताको रिर्जभ ट्याङ्कीको काम सकिएको छ । अब पम्प मार्फत मुहानदेखि ओभर हेड ट्याङकीसम्म पाईप पुराउने काम बाँकी रहेको छ । ठेकेदारका अनुसार अबको एक महिनाभित्र यो कामले पुर्णता पाउने छ ।

यस्तै वडा नम्बर १ मा रहेको ठिमुराबासीहरु पनि सुरक्षित र स्वच्छ खाने पानीको पहुँचमा पुगेका छन् । अहिले त्यहाँका करिब २ सय घरधुरीका लागि डिप बोरिङ हाल्ने काम भइरहेको छ । महानगरपालिकाले यसै स्थानमा अर्को दीर्घकालिन महत्वको खानेपानी परियोजना अघि बढाएको महानगरपालिका प्रमुख दाहालले जानकारी दिईन् ।

महानगरपालिका प्रमुख दाहालका अनुसार भरतपुरका २९ वटै वडामा बाहिरा प्रचार गरेको जस्तो खानेपानीको अभाव नरहेको उल्लेख गरिन् । संविधानले ग्यारेण्टी गरेको खानेपानी उपभोगको अधिकारलाई मध्यनजर राख्दै ठुला ठुला परियोजनाहरु निर्माणधिन अवस्थामा रहेको प्रमुख दाहालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस