वैदेशिक रोजगारमा हुने विकृति रोक्न मन्त्री कुँवरको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १९ : ०९
वैदेशिक रोजगारमा हुने विकृति रोक्न मन्त्री कुँवरको निर्देशन

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवसायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको उनले बताए । मन्त्री कुँवरले व्यवसायीलाई भने, 'सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौँ रकम तिर्न बाध्य छ । यो विषयमा हामी पनि अनुगमनमा कडाई गर्छौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला', उनले भने । 

साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले लाग्नु पर्ने बताए ।  उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफूहरु सधैं तयार रहेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस