पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : डा. तोसिमा कार्की

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १५ : ४३
पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : डा. तोसिमा कार्की

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीवार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

उनले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताएकी छन् । उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।

उनले भनेकी छन्, ‘हजुरहरुले दिनुभएका वाणिहरु, वाचाहरु, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु । म मेरो पाँच वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासिको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु । र जनमुखि मुद्दाहरुमा बुलन्द रहने छु । विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ ।’

उनले फेरि भनेकी छन्, ‘तबसम्म मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको छु । निरन्तर मलाई खबरदारी गरिरहनु होला । सल्लाह, सुझाव दिइरहनु होला । हामी मिलेर अब यो पाँच वर्षमा हामीले चाहेको देश, हामीले चाहेको समृद्ध, स्वस्थ, सुखि देश मिलेर निर्माण गर्नेछौँ । यसमा हातेमालो हजुरहरुले गरिदिइ रहनुहोला ।’

उनले संसदभित्र आफ्नो भुमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने बताइन् । सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भूमिका रहने उनले बताइन् । प्रतिनिधि सभा सदस्य डा. कार्कीले आफू समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘संसद भवनमा मेरो भुमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहन्छ । सांसद कस्तो हुनुपर्छ ? संसद भवन भित्रका वहस कस्तो हुनुपर्छ ? र कुर्सिमुखी होइन, जनमुखि मुद्दामा एक सांसद कसरी उभिनुपर्छ ? समस्या र समाधानबिचको पुल कसरी निर्माण गर्न सकिन्छ भन्नेमा मेरो भुमिका रहन्छ । समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता म हजुरहरु सामु जायर गर्दछु ।’

उनले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने बताइन् । उनले जनताको अवस्था जनताले चाहेजस्तै बनाउने आँट र हिम्मत आफूसँग रहेको बताइन् । उनले भनिन्, ‘म त एक प्रतिनिधि पात्र मात्र हुँ । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गरेर देशमै सुशासन, सुनिधि, सुव्यवस्था र व्यवस्था माथिको हामी जनताले चाहेको अवस्था स्थापित गर्छु भन्ने आँट, हिम्मत गरेर उठेकी प्रतिनिधि पात्र मात्र हुँ ।’

उनले थपिन्, ‘ललितपुर क्षेत्र नं. ३ ले मलाई देशको लागि, देश हीतको लागि सुम्पिइसकेको छ । त्यसकारण म ललितपुर क्षेत्र नं. ३ का सम्पूर्ण मेरा आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा नै यो जितको श्रेय फेरिपनि टक्र्याउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस