रुपन्देही २ : राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ११ : १३
रुपन्देही २ : राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

रुपन्देही । रुपन्देही २ मा तीन हजार २०  मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेलले अग्रतालाई जोगाइरहेका छन् । सुरुवातदेखी अग्रता लिइरहेका उनले एक हजार ९६ मत प्राप्त गरेका छन् । सो क्षेत्रबाट पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन् ।

सुरुवातदेखी दोस्रो स्थानमा रहेका पौडेलले नौ सय ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टिका उम्मदेवार केशव थापाले सात सय ३२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) ले राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । गुरुङको उम्मेदवारीलाई लिएर निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको थियो । आयोगको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दिएपनि अदालतले आयोगकै फैसलालाई सदर गरेको थियो ।

सत्ता गठबन्धनले आफ्नो उम्मेदवारको उम्मेदवारी खारेजी भएपछि जनमुक्ती पार्टीबाट उम्मेदवारी दिएका केशव थापालाई समर्थन गर्ने निर्णय लिएको थियो । यस क्षेत्रमा सुरुवाती समयमा एमाले र सत्ता गठबन्धनलाई मुख्य प्रतिस्पर्धी मानिएको थियो । त्यसैले सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार नभएपछि एमाले नेता पौडेलले सहज जीतको आकलन गरेका थिए । 

तर, रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले एमाले नेता पौडेललाई सुरुवातदेखी कडा टक्कर दिइरहेका छन् । मत गणनाको अहिलेसम्म पौडेलले एक पटक पनि रास्वपाका उम्मेदवारलाई उछिन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस