बजेट शत प्रतिशत कार्यन्वयन हुनेमा विश्वश्त छौँ : मेयर दाहाल

सुरेन कुँवर

सोमबार, ११ असार २०७५, १८ : १६
बजेट शत प्रतिशत कार्यन्वयन हुनेमा विश्वश्त छौँ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले कुनै पनि योजनाहरु कार्यान्वयन नहुने भन्ने स्थिति नरहने बताउनु भयो । बजेट अभावले योजनाहरु रोकिन सकेपनि अन्य कुरामा महानगरले ढिलासुस्ती नगर्ने दाबी गर्नुभयो ।
“पहिलोभन्दा दोस्रो नगर सभाका योजना निर्माण गर्न सहज भयो । पहिलो नगर सभामा जनतालाई गरेका प्रतिवद्धता पूरा गर्न सकिएन” मेयर दाहाले भन्नुभयो, “हामीले राखेको लक्ष्य अनुसार योजना र खाकाहरुलाई समावेश गर्न नसकेपनि बिस्तारै प्रकृयागत कुराहरु टुङ्गो लाग्दैछ । दोस्रो नगर सभा गर्न धेरै सहज भयो । जनतको बीचमा गएर, प्रत्यक्ष भेटेर, महानगरको दीर्घकालीन, तत्कालीन योजनाहरु निर्माण गर्दा सहज अनुभूति गरेका छौँ ।”
रणनीतिक महत्वका गौरवका योजनामा महानगरीय चक्रपथ, सिटिहल, पार्क, फोहोर व्यवस्थापन, अटोल्याण्डको आयोजनालाई लिइएको उहाँले बताउनु भयो । महानगरीय चक्रपथको लागि शहरी विकास मन्त्रालयबाट गत बर्ष नै २ अर्ब विनियोजन भएको छ । रिङरोड (चक्रपथ) सहितको थप १३ वटा मुख्य सडक लिङ्करोडको यसै महिना शिलान्यास हुदैँछ । 

गोन्द्राङदेखि जगतपुरको पुलसम्म र पुलचोकदेखि रामघाटसम्म रिङरोड निर्माण कार्य शुरु हुनेछ । ९५ किलोमिटरको चक्रपथमध्ये यी दुई रुटको काम पहिलो चरणमा शुरु हुनेछ । रिङरोड निर्माणका लागि ठुलो बजेट आवश्यकता पर्ने भएकाले बहुबर्षीय योजना अन्तर्गत यसको काम अघि बढाइने मेयर दाहालले बताउनु भयो । 
“गौरवको योजनामा रहेको सिटि हल निर्माण गर्न ५० करोड अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । वडा नम्बर चारको कचपचेचोकअघि रहेको क्यान्सर हस्पिटलको जग्गामा सिटि हल बन्दैछ । बजेट प्राप्त गरिसकेका छौँ” उहाँले भन्नुभयो, “परीक्षण प्रकृया र टेन्डरको प्रकृया अगाडि बढ्दैछ ।” 

भरतपुर महानगरको फोहोर व्यवस्थापन गर्न ‘फोहोरबाट उर्जा कार्यक्रम’ अन्तर्गत कोरियन सरकारको सहयोगबाट १५ करोडको लागतमा डिपिआर कार्यक्रम अगाडि बढ्दैछ । बजारलाई व्यवस्थित गर्न अटो ल्याण्डका निर्माण गर्न वडा नम्बर ३ नरायणगढको नारायणी नदी किनारमा जग्गाको नाप जाँच गर्ने काम अन्तिम चरणमा पुगेको छ । यसले यातायातलाई एकीकृत गरी बजारलाई व्यवस्थित बनाउने महानगरको विश्वास छ । 

“नगरस्तरीय पार्क निर्माणको काम पनि अगाडि बढाएका छौँ” मेयर दाहालले भन्नुभयो, “हाल दियालो बङ्गला रहेको जग्गालाई केन्द्रीय सरकारसँग विशेष पहल गरी भरतपुर महानगरको स्वामित्वमा ल्याएर पार्क निर्माण गर्नेछौँ । हामीलाई ठुला परियोजना बढाउन बजेटको अभाव हँुदैन । उपयुक्त ठाउँको अभावले बरु केही महत्वपूर्ण योजनाहरु रोकिएका छन् । ठाउँ पक्का नभएका कारण क्रिकेट रंगशालाको काम केहि समयका लागि रोकिएको छ ।” 

क्रिकेट रंगशालाको लागि विभिन्न ठाउँबाट प्रस्ताव आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “धुर्मुस–सुन्तली फाउण्डेशनबाट पनि प्रस्ताव आएको छ । यसका लागि हामीले विभिन्न स्थानमा गएर अवलोकन पनि ग¥यौँ । २० नम्बर वडामा क्रिकेट रगंशाला बनाउने ठाउँमा जग्गा अभाव भएपछि १८ नम्बर वडामा हे¥यौँ । त्यहाँ पनि भएन, जग्गाको अभाव भयो ।” तेस्रो विकल्पमा रामपुर कृषि क्याम्पससँग गरेको छलफल सकारात्मक भएको उहाँले बताउनु भयो । त्यो जग्गा त्रिविको स्वमित्वमा रहेकाले त्रिवि सकारात्मक भएमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भरतपुर महानगर अघि बढ्ने उहाँको भनाइ छ ।

“भरतपुरलाई गुरुयोजनामार्फत विकास गर्ने लक्ष्य लिएका छौँ । अबको ६ महिनाभित्र गुरुयोजना सार्वजनिक हुन्छ” उहाँले भन्नुभयो, “गुरुयोजना निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम गुरुयोजनाको डिपिआर तयार गर्दा खर्च हुनेछ ।”

यस वर्ष भरतपुरको लायन्सचोकमा बहुउद्देश्यीय व्यापारिक केन्द्र बनाउन एडीबीको सहयोगमा नगर विकास कोषमार्फत काम अगाडि बढाइएको उहाँले बताउनु भयो । “पहिलो नगर सभाको जति पनि योजना थिए, लगभग सबै कार्यान्वयन भए । वडा स्तरीय योजना सबै कार्यान्वयन भयो” मेयर दाहालले भन्नुभयो, “गतवर्ष जनसहभागितामा १७ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको थियौँ, १९ करोड जुट्यो । जनसहभागिताका योजना शत प्रतिशत कार्यान्वयन भएकोले हामी उत्साहित भएका छौँ ।”

प्रतिक्रिया दिनुहोस