ट्वीटरद्वारा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

एजेन्सी

आइतबार, २७ कार्तिक २०७९, ०८ : ३७
ट्वीटरद्वारा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

एजेन्सी । ट्वीटरका नयाँ मालिक इलन मस्कले प्रयोगकर्ताले आफ्नो ह्यान्डल मासिक शुल्क तिरेर आधिकारिक बनाउन सक्ने नियम लागु गरेको केही दिनमा खारेज गरेका छन् । मस्कले ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज गरेका हुन् ।

अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुपर्‍यो ।

केवल एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् । ट्वीटरमा कारोबार गर्ने यस्ता विज्ञापनदाताहरू जो यसअघि नै आफ्नो कारोबार रोकेर स्थितिको मूल्यांकन गरिरहेका छन्, उनीहरूका लागि फर्जी खाता ठूलो झट्का हुन सक्दछ ।

ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो । तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थाले । ट्वीटरले पनि आफ्नो एल्गोरिदमका माध्यमबाट गलत मानिसहरुको पहिचान गरिरहेको छ । यसबाट केही मानिसहरु प्रभावित पनि भएका छन्, जसमा अमेरिकी बास्केटबल खेलाडि लिब्रोन जेम्स पनि छन् ।

ट्वीटरले ठूला हस्ती तथा ब्लु टिकवाला ट्वीटर अकाउन्टको नामको तलपट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्वीटरले केही घण्टामै बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस