बागलुङका छ वटै सिट जित्ने शिक्षामन्त्री पौडेलको दाबी

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १९ : ५९
बागलुङका छ वटै सिट जित्ने शिक्षामन्त्री पौडेलको दाबी

बागलुङ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे । ‘गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ’, मन्त्री पौडेलले भने। उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे । 

उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए । चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ । 

नेकपा (माओवादी केन्द्र)का सचिव पौडेल बागलुङ-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । उनी  २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस