नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

रासस

विहीबार, १७ कार्तिक २०७९, १४ : ४३
नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

नवलपरासी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी पूर्वमा तोकिएका मतदानस्थलमध्ये १३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।

जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए । उनका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अतिसंवेदनशील केन्द्रका रुपमा मानिएको हो । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । 

सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सूक्ष्मरुपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने उनले बताए । निर्वाचनलाई निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न मतदानपूर्व, मतदानको दिन र मतदानपछिको परिणाम घोषणा र विजय ¥यालीसम्मका लागि तीन चरणको सुरक्षा योजना बनाइएको छ ।  

नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाइने र आवश्यक परे बढीमा २५ मिनेटभित्र नेपाली सेनाको टोली मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको छ । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थलसम्म पु¥याउने, मतगणनास्थल र मतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आएपछि दलले विजयी ¥यालीका लागि तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस